Section 11K
गाउँ शिक्षा समिति

(१) गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विद्यालयको व्यवस्थापन, रेखदेख र समन्वय गर्ने कामको लागि प्रत्येक गाउँपालिका वा नगरपालिकामा देहाय बमोजिमको गाउँ शिक्षा वा नगर शिक्षा समिति रहनेछः–

(क) गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुख वा सो काम गर्न तोकिएको व्यक्ति –अध्यक्ष

(ख) गाउँपालिका वा नगरपालिकाले तोकेको गाउँपालिका वा नगरपालिकाको सदस्यहरुमध्येबाट कम्तीमा एकजना महिला सहित दुर्ईजना – सदस्य

(ग) सम्बन्धित गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयकाविद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुमध्येबाट जिल्ला शिक्षा समितिले मनोनीत गरेको एकजना –सदस्य

(घ) स्थानीय समाजसेवी वा शिक्षा प्रेमीहरुमध्येबाट गाउँ शिक्षा समिति वा नगर शिक्षा समितिबाट मनोनीत एकजना दलित र दुर्ईजना महिला सहित तीनजना –सदस्य

(ङ) सम्बन्धित गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुमध्येबाट सम्बन्धित गाउँपालिका वा नगरपालिकाले मनोनीत गरेको कम्तीमा एकजना महिला सहित दुर्ईजना –सदस्य

(च) सम्बन्धित गाउँपालिका वा नगरपालिका स्थित विशेष शिक्षा, समावेशी शिक्षा वा स्रोत कक्षा सञ्चालन गर्ने विद्यालय वा अपाङ्गता सम्बन्धी शिक्षण संस्थाबाट प्रतिनिधित्व हुने गरी गाउँ शिक्षा समिति वा नगर शिक्षा समितिले मनोनीत गरेको अपाङ्गता भएका व्यक्ति एकजना –सदस्य

(छ) गाउँ शिक्षा समितिको हकमा सम्बन्धित स्रोत व्यक्ति र नगर शिक्षा समितिको हकमा सम्बन्धित विद्यालय निरीक्षक –सदस्य–सचिव

(१क) गाउँपालिका वा नगरपालिका क्षेत्र भित्रका विद्यालयका प्रधानाध्यापकहरु र नेपाल शिक्षक महासंघको प्रतिनिधिलाई उपदफा (१) बमोजिमको समितिको बैठकमा पर्यवेक्षकको रुपमा आमन्त्रण गरिनेछ ।

(२) उपदफा (१) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ । मनोनीत सदस्यले आफ्नो पद अनुसारको आचरण नगरेको देखिएमा मनोनयन गर्ने पदाधिकारी वा निकायले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।

तर त्यसरी पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन ।

(३) गाउँ शिक्षा वा नगर शिक्षा समितिको अन्य काम, कर्तव्य, अधिकार र बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।